गाजा क्षेत्रमा मानवीय राहत लिन पुगेका सर्वसाधारणमाथि इजरायली सेनाले गोली चलाउँदा फेरि एकपटक भीषण घटना दोहोरिएको छ। घटनामा कम्तीमा ३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ भने ३० जना भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ।
यो हिंसात्मक हमला गाजाको दक्षिणी भागस्थित एक सहायता वितरण केन्द्र नजिक भएको हो, जहाँ एक दिनअघि मात्र इजरायली सेनाले गोली चलाएको आरोप लगाइएको थियो। प्रत्यक्षदर्शी र स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार सेनाले कुनै चेतावनी नदिइ सीधा गोली प्रहार गरेको हो।
संयुक्त राष्ट्रसंघले घटनाको स्वतन्त्र छानबिनको माग गर्दै विश्व समुदायको ध्यानाकर्षण गराएको छ। अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले यस प्रकारको सैन्य कार्यवाहीलाई ‘मानवीय मूल्यको गम्भीर उल्लंघन’ भन्दै कडा शब्दमा निन्दा गरेका छन्।






