काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न भागहरूमा हल्कादेखि मध्यम स्तरको वर्षा हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी कोशी प्रदेशमा मनसुनी वायुको असरले र अन्य ठाउँमा पश्चिमी तथा स्थानीय वायुको प्रभावले वर्षा सम्भावना देखिएको हो।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार, कोशी प्रदेशमा मनसुन समयभन्दा १५ दिनअघि नै प्रवेश गरे पनि हालको अवस्था हेर्दा अर्को केही दिनसम्म अन्य प्रदेशमा नफैलिने सम्भावना छ।
हालको वर्षाले बाढीको उच्च जोखिम भने देखिएको छैन। तर, मनसुन भित्रिएको दिनमै परेको भारी वर्षाले कोशी प्रदेशका सडक, जलविद्युत् र अन्य पूर्वाधारमा क्षति पु-याएको थियो।
अर्का तीन दिनसम्म मनसुन स्थिर रहने सम्भावना रहेकोले देशका अन्य क्षेत्रहरूमा मौसम परिवर्तन भए पनि भारी वर्षाको संभावना न्यून छ।






