इंग्लिस प्रिमियर लिगको रोमाञ्चक अन्त्यसँगै लिभरपुल, आर्सनल, म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले आगामी सिजनको युएफा च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेका छन्। अन्तिम खेलहरूमा प्राप्त नतिजाले यी क्लबहरूको यूरोपियन प्रतिस्पर्धामा सहभागिता सुनिश्चित गरिदिएको हो।

म्यानचेस्टर सिटीले फुलहमलाई २–० ले हराउँदै लिगको तेस्रो स्थानमा सिजन टुंग्यायो र ७१ अंक बटुल्यो। चेल्सीले नटिङ्घम फरेस्टलाई १–० ले पराजित गर्दै ६९ अंकका साथ चौथो स्थान ओगट्यो। न्युक्यासल युनाइटेड एभर्टनसँग १–० ले पराजित भए पनि ६६ अंकसहित पाँचौं स्थानमा रहँदै च्याम्पियन्स लिग प्रवेश गर्‍यो।

यता, लिग विजेता लिभरपुलले क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेल्यो भने दोस्रो स्थानको आर्सनलले साउथ ह्याम्पटनमाथि २–१ को जित दर्ता गर्‍यो।

अन्य खेलमा टोटनहम ब्राइटनसँग ४–१ ले पराजित भए पनि युरोपा लिग विजेता भएको नाताले उसले पनि च्याम्पियन्स लिग खेल्नेछ। बोर्नमाउथ, वेस्ट हम, म्यानचेस्टर युनाइटेड र अन्य क्लबहरूका खेलहरूले लिगको अन्तिम तालिका तय गरेका छन्।

यसरी, इंग्ल्यान्डबाट ६ टोली युरोपको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा सहभागिता जनाउने भएका छन्।