काठमाडौं – चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकहरूले गरेको उग्र प्रदर्शनपछिको घटनामा प्रहरीले १०८ जनाविरुद्ध मुद्दा अघि बढाउनुपर्ने ठहर गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान पूरा गर्दै उक्त रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो। अब सरकारी वकिल कार्यालयले प्रतिवेदनको अध्ययन र विश्लेषणपछि भोलिसम्म अभियोगपत्र पेश गर्ने तयारी गरिरहेको छ।
प्रहरीले संलग्न व्यक्तिहरूमाथि आपराधिक उपद्रव, सङ्गठित अपराध, राज्यविरुद्धको कसूर, कर्तव्यज्यान, र ज्यान मार्ने उद्योग जस्ता गम्भीर अभियोगहरू सिफारिस गरेको छ।
अनुसन्धानअनुसार, ६१ जना आपराधिक उपद्रव तथा सङ्गठित अपराधमा, र २९ जना राज्यविरुद्धको कसूरमा संलग्न देखिएका छन्। तीमध्ये केही अभियुक्तहरू हाजिरी जमानीमा छुटेका छन् – जसमा आपराधिक उपद्रवतर्फ ३४ र राज्यविरुद्धको कसूरमा तीन जना छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू पनि अनुसन्धानको दायरामा परेका छन्। वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई हाजिरी जमानीमा राखिएको छ भने दुर्गा प्रसाईंलाई अझै हिरासतमा राखिएको छ।






