काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र सर्वोच्च अदालतको आदेशपछि हाजिरी जमानीमा रिहा भएका छन्। गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका मिश्रमाथि राज्यद्रोह, संगठित अपराध र आपराधिक उपद्रवसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको थियो। हिरासत लम्ब्याउने सरकारी प्रयासहरूका बीच मिश्रले बन्दी प्रत्यक्षीकरणको माग गर्दै रिट दायर गरेका थिए। न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले उनलाई नियमित हाजिरीको सर्तमा रिहा गर्न आदेश दिएको हो। अदालतको यो निर्णयसँगै लामो अनुसन्धान प्रक्रियामा रहेका मिश्र अस्थायी रूपमा स्वतन्त्र भएका छन्।