काठमाडौँ – संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउने उद्देश्यले सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा नयाँ अध्यक्षसहित सदस्यहरू नियुक्त गरेको छ।

सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकले सिफारिश समितिको प्रस्तावअनुसार दुवै आयोगमा पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो। उक्त जानकारी सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिनुभएको छ।

सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश थापा नियुक्त हुनु भएको छ भने सदस्यहरूमा अच्युतप्रसाद भण्डारी, डा. टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्या ओझा रहेका छन्।

त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लीलादेवी गड्तौला नियुक्त हुनु भएको छ। सदस्यहरूमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली चयन भएका छन्।