काठमाडौँ – सरकारको गभर्नर सिफारिश समिति नयाँ रूपमै अगाडि बढ्ने भएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको समितिमा हालै परिवर्तन गर्दै दुई सदस्यहरूलाई अदलाबदली गरिएको हो।

नयाँ समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीसहित अर्थविद् डा. पोषराज पाण्डे सदस्यका रूपमा थपिएका छन्। डा. पाण्डेले विज्ञ सदस्य विश्व पौडेलको स्थान लिएका हुन्, जसले नेपाली कांग्रेसबाट गभर्नर पदका लागि नाम सिफारिस भएपछि राजीनामा दिएका थिए।

यसअघि समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई पनि संलग्न थिए। तर, समिति प्रभावकारी रूपमा क्रियाशील नहुँदा उनले समेत एक महिनापछि राजीनामा दिएका थिए।

गत चैत ११ गते मन्त्रिपरिषद्को निर्णयअनुसार यो सिफारिश समिति गठन गरिएको हो, जसले नयाँ गभर्नर चयन प्रक्रिया अघि बढाउने जिम्मेवारी पाएको छ।