काठमाण्डौ – देशका दुई महत्त्वपूर्ण राजमार्गहरू – पूर्व–पश्चिम राजमार्ग र बीपी राजमार्ग – एकैदिन अवरुद्ध हुँदा सयौं यात्रु बीच बाटोमै रोकिएका छन्। नवलपरासीको चोरमारा क्षेत्रमा ट्रक गुज्रने क्रममा फलामे पुल भासिएपछि पूर्व–पश्चिम राजमार्गको कावासोती–दुम्कीवास खण्ड पूर्णरूपमा ठप्प भएको हो। घटनापछि चोरमारा र अरुणखोलामा दर्जनौं गाडीहरू रोकिएका छन्।
यसैबीच, लगातारको वर्षाले काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गको माम्ती खोलामा बनाइएको डाइभर्सन बगाएपछि उक्त मार्ग पनि बन्द भएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार नमोबुद्ध र रोशी जोड्ने वैकल्पिक सडकसमेत बाढीले बगाउँदा आवतजावत पूर्णतः बन्द भएको हो। प्रहरीका अनुसार सडक खुलाउने प्रयास जारी छ भने गाडीहरूलाई विभिन्न स्थानमा रोकिने व्यवस्था मिलाइएको छ।






