भारत र पाकिस्तानबीचको चुलिँदो तनावप्रति नेपालले गम्भीर चासो व्यक्त गर्दै, आतङ्कवादविरुद्ध दृढ प्रतिबद्धता जनाएको छ। परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपालले सबै प्रकारका आतङ्कवादी क्रियाकलापको निन्दा गर्दै, कुनै पनि पक्षको आक्रामक कदमले क्षेत्रीय शान्ति संकटमा पर्न सक्ने चेतावनी दिएको छ।
पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको सन्दर्भमा नेपालले आफ्ना भू–भागबाट छिमेकीमाथि कुनै पनि प्रकारको अवाञ्छनीय गतिविधि हुन नदिने स्पष्ट पारेको छ।
भारतमा भएको उक्त घटनामा एक नेपाली नागरिकसहित २६ भारतीयको मृत्यु भएको जानकारी दिँदै, नेपालले यस दुःखद घटनाप्रति समवेदना प्रकट गरेको छ। साथै, द्वन्द्व शान्तिपूर्ण वार्तामार्फत समाधान होस् र दक्षिण एशियामा स्थायित्व कायम रहोस् भन्ने विश्वास नेपालले व्यक्त गरेको छ।






