लामो कूटनीतिक संवादपछि अमेरिका र युक्रेनबीच आर्थिक साझेदारीसम्बन्धी एक महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ, जसले दुवै देशबीचको रणनीतिक सम्बन्धलाई नयाँ चरणमा प्रवेश गराएको छ।
सम्झौताअनुसार अमेरिका युक्रेनका दुर्लभ खनिज स्रोतमा पहुँच प्राप्त गर्नेछ भने युक्रेनमा विशेष लगानी कोष स्थापना गरिनेछ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार यो सम्झौता राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि सक्रिय वार्ताका चरणहरूमार्फत गरिएको हो।
युद्धको कारण पछिल्लो समय अमेरिका–युक्रेन सम्बन्धमा चिसोपन देखिएको थियो, जसका कारण अमेरिकी सहयोग समेत रोकिएको थियो। तर, यो सम्झौताले सम्बन्धमा नयाँ मोड ल्याएको छ। अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टले सम्झौता घोषणा गर्दै अमेरिका ‘निरर्थक युद्ध अन्त्यका लागि’ प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
सम्झौतामा भूमिगत स्रोतहरूको स्वामित्व युक्रेनकै रहने स्पष्ट प्रावधान राखिएको छ। युक्रेनी अर्थमन्त्री युलिया स्विरीडेन्कोले अमेरिकी राजधानी वासिङ्टनमा युक्रेन सरकारको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेकी छन्। उनले सामाजिक सञ्जाल एक्समा “हाम्रो भूभागमात्र होइन, समुद्री र स्रोत सम्पत्तिमा पनि पूर्ण अधिकार युक्रेनकै हुनेछ” भनेर लेखेकी छन्।
यो सम्झौता युक्रेनी राष्ट्रपति जेलेन्स्कीको फेब्रुअरी भ्रमणका क्रममा हुने अपेक्षा गरिएको थियो। तर ह्वाइट हाउसभित्रको विवादका कारण भ्रमण छोटिएको र सम्झौता स्थगित भएको थियो। अन्ततः हिजो सहमतिको अन्तिम चरणमा पुगेपछि कागजातसम्बन्धी विवाद समाधान गर्दै सम्झौता सम्पन्न भएको हो।






