काठमाडौँ – आज मे १, १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ।

यो दिवस श्रमिक समुदायको अधिकार, सम्मान र पेसागत सुरक्षाको प्रतिवद्धता दोहोर्याउने दिनका रूपमा लिइन्छ। सन् १८८६ मा अमेरिकाको सिकागोमा आरम्भ भएको श्रमिक आन्दोलनको सम्झनामा यो दिवस अन्तर्राष्ट्रिय रूपमै मनाइन्छ, जसले ‘आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन’ भन्ने ऐतिहासिक मागलाई विश्व श्रमिक आन्दोलनको मूलमन्त्र बनायो। नेपालमा भने यो दिवस पहिलोपटक २००७ सालमा मनाइएको थियो।

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाल सरकारले मे १ तारिखलाई सार्वजनिक बिदाका रूपमा घोषणा गर्दै यो दिवसलाई औपचारिक मान्यता दिएको हो। आजको दिन राष्ट्रपति, प्रधानमन्त्री लगायत राष्ट्रिय नेताहरूले शुभकामना सन्देश दिँदै श्रमिकका अधिकार सुनिश्चित गर्दै उत्पादनशील र मर्यादित श्रम वातावरण निर्माणमा सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।