काठमाडौँ – नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणको उपाधिका लागि आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच रोमाञ्चक भिडन्त हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ।

साविक विजेता ललितपुर अपराजित रहँदै फाइनलमा पुगेको छ भने पोखराले पहिलोपटक उपाधि भिडन्त खेल्न लागेको हो। लिग चरणमा ललितपुरले पोखरालाई ३–२ ले हराएको थियो।

पोखराले प्लेअफमा चितवन एफसी र धनगढी एफसीलाई पाखा लगाउँदै फाइनल यात्रा तय गर्‍यो। विजेता टोलीले ८० लाख र उपविजेताले ३० लाख रुपैयाँ पुरस्कार जित्नेछ। साथै व्यक्तिगत उत्कृष्टता अनुसार विशेष अवार्ड पनि प्रदान गरिने आयोजकले जनाएको छ।