काठमाडौँ – सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्काउने र तीन दिनभित्र पठनपाठन सुचारु गर्ने स्पष्ट निर्देशन दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जारी गरेको अन्तरिम आदेशमा शिक्षाको निरन्तरता सुनिश्चित गर्न सरकारलाई तत्काल पहल गर्न भनिएको छ।

सर्वोच्चले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा समयमै प्रकाशन गर्नुपर्ने र कक्षा १२ को परीक्षा निर्धारित मितिमा नै सञ्चालन गर्नुपर्ने पनि उल्लेख गरेको छ। लामो समयदेखि जारी आन्दोलनका कारण विद्यार्थीहरूको भविष्य अन्योलमा नपरोस् भन्ने उद्देश्यले अदालतले यस्तो आदेश दिएको हो।

सर्वोच्चले शिक्षा मन्त्रालयलाई आदेश जारी भएको चौथो दिनभित्र आदेशको कार्यान्वयन प्रगतिबारे अदालतमा प्रतिवेदन बुझाउन पनि भनेको छ। आन्दोलनका कारण सम्पूर्ण देशभरिका बालबालिकाको शैक्षिक अधिकार हनन भइरहेको भन्दै अधिवक्ताहरू श्रवणकुमार चौधरी र माधवराज शर्मा पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।