काठमाडौं – राजतन्त्र पुनःस्थापनाको मागसहित आजदेखि चरणबद्ध आन्दोलन सुरू गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनलाई लिएर गृह मन्त्रालयले कडा सन्देश दिएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कानूनद्वारा तोकिएको निषेधित क्षेत्र उल्लङ्घन गरेमा कडाभन्दा कडा कारबाही गरिने स्पष्ट पारेको छ।
सरकारको ध्यान राप्रपाका वक्तव्य र सार्वजनिक आह्वानप्रति गम्भीर रूपमा आकृष्ट भएको उल्लेख गर्दै गृह मन्त्रालयले संवैधानिक सीमाभन्दा बाहिर गएर हुने कुनै पनि गतिविधि अस्वीकार्य हुने चेतावनी दिएको हो।
राप्रपाले आजदेखि राजतन्त्रको पक्षमा व्यापक जनमत निर्माण गर्ने उद्देश्यले आन्दोलनको थालनी गर्दैछ। यसअघि पनि बल्खु र तिनकुनेमा गरिएको प्रदर्शनले चर्चित मोड लिएको थियो, जसमा तिनकुनेको घटनाले हिंसात्मक रूप लिएपछि केही नेताहरू पक्राउ समेत परेका थिए।






