काठमाडौँ – चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनपछिका घटनाक्रममा फरार रहेका दुर्गा प्रसाईं भारतमा पक्राउ परेको भन्ने चर्चा सामाजिक सञ्जालमा व्यापक बनेका छन्। तर, नेपाल प्रहरीले यसबारे अहिलेसम्म कुनै आधिकारिक पुष्टि गर्न नसकेको जनाएको छ।
प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुर्गा प्रसाईं विभिन्न आपराधिक घटनामा संलग्न रही प्रहरीको खोजी सूचीमा छन्। हालसम्म उनी पक्राउ परेका छैनन्। कृपया यस्ता अपुष्ट र भ्रामक समाचार नप्रसारण गर्न आग्रह गर्दछौं।”
यता प्रसाईं निकट स्रोतले भने सामाजिक सञ्जालमार्फत उनी भारतको आसाम प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेको छ।
नेपाल–भारत सीमा क्षेत्रबाट उनलाई समातिएको चर्चा चुलिँदा, सुपुर्दगी सन्धि नभएका कारण यस्तो अवस्थामा एकअर्को देशको सुरक्षाकर्मीले सीमाक्षेत्रमा व्यक्ति हस्तान्तरण गर्ने प्रचलन रहेको बताइन्छ।






