काठमाण्डौ – काठमाण्डौको तीनकुने क्षेत्रको हालैको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप सात जनालाई पक्राउ गरेको छ। तीनकुनेमा राजावादी समूहले शुक्रबार आयोजना गरेको कार्यक्रममा हिंसा, अराजकता र तोडफोडको घटनामा यी व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकाहरूलाई आगजनी, तोडफोड र राज्यविरुद्धका अपराधमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार, उनीहरूको घटनामा संलग्नता गहिरो रहेको र थप अनुसन्धान भइरहेको छ।

यसैबीच, यसअघि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनाविरुद्ध काठमाण्डौ जिल्ला अदालतले ६ दिनको थप थुनामा राख्ने आदेश दिएको छ। अदालतको इजलासले अनुसन्धानको लागि उनीहरूको थुनामै राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो।

तीनकुने घटनामा संलग्न १ सय १२ जनालाई प्रहरीले पक्राउ गरे पनि ८१ जनालाई सामान्य सोधपुछ पछि हाजिरी जमानीमा रिहा गरिएको छ। भने, प्रदर्शनको दौरान दुई जनाको ज्यान गएको र १ सय २९ जना घाइते भएका थिए। हालसम्म २४ जना घाइतेको उपचार भइरहेको छ।

प्रहरीले प्रदर्शनकारी र उनीहरूसँग जोडिएका विभिन्न व्यक्तिहरूसँग गहिरो अनुसन्धान जारी राखेको जनाएको छ।