काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई आवश्यक सहयोग दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले हिजो बालुवाटारमा पत्रकार रजकका परिवारसँग भएको भेटमा, मृतकका परिवारलाई रोजगारी र अन्य आवश्यक सहयोगका लागि सरकारले ध्यान दिने जानकारी दिनुभयो।

प्रधानमन्त्रीले पत्रकार रजकको अकाल मृत्युप्रति दुःख व्यक्त गर्दै, अराजक तत्वको आगलागीका कारण भएको यस घटनामा गहिरो समवेदना प्रकट गर्नुभयो। साथै, उहाँले घटनाको छानबिन भइरहेको र दोषीमाथि कडा कारबाही प्रक्रिया सुरु भएको जानकारी दिनुभयो।

सुरेश रजकका दाजु रमेश र रिनेश रजक लगायतका परिवारजन र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे पनि उक्त भेटमा सहभागी हुनुहुन्थ्यो।