काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ। हिजो भएको रोमाञ्चक खेलमा मुम्बईले ११७ रनको लक्ष्य १२ ओभर ५ बलमा दुई विकेट गुमाएर पार गर्यो। मुम्बईका रायन रिकेल्टोनले ६२ रनको उत्कृष्ट पारी खेल्दै टोलीलाई जित दिलाए।

कोलकाताले पहिला ब्याटिङ गर्दै १६ ओभर २ बलमा सबै विकेट गुमाएर ११६ रनको सानो लक्ष्य बनाएको थियो। कोलकाताका लागि अंगकृश रघुवंशीले २६ रन बनाए। मुम्बईका अश्विन कुमारले शानदार प्रदर्शन गर्दै चार विकेट लिए।

कोलकाताका प्रमुख बलर आन्द्रे रसेलले दुई विकेट लिए, तर मुम्बईको लक्ष्य सानो भएकाले त्यसलाई पछ्याउँदै मुम्बईले सहज जीत निकाले। यस जितसँगै मुम्बई तालिकामा छैटौँ स्थानमा उक्लिएको छ भने कोलकाता भने नेट रनरेटका आधारमा तल झरेको छ।

यसअघि मुम्बईले चेन्नई सुपर किङ्स र गुजरात टाइटन्ससँग हार सामना गरेको थियो, जबकि कोलकाताको यो दोस्रो हार हो। आज आईपीएलमा लखनउ सुपर जायन्ट्स र पन्जाब किंग्सबीच अर्को खेल हुनेछ।