नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको छ ।
सो बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठलगायतलाई बैंकिङ ठगी प्रकराणमा नियन्त्रण लिई अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उनले आठ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको बताए ।
कमसल धितोमा बढी रकम ऋणका रूपमा प्रवाह गरी बैंकलाई ठगी गरेको उनीहरूमाथि आरोप छ । उनीहरुले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीको अनुसन्धानले जनाएको छ ।






