इलामको अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए ।

उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फिना’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको छ ।

महोत्सवको दोस्रो दिन शनिबार अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लाप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमलगायत राखिएको बरालले जानकारी दिए। ‘सूर्योदय आइडल’को ग्रान्ड फिनालेमा आठजना प्रतिस्पर्धीबाट विजेता छनोट गरिनेछ ।

महोत्सवमा कलाकार यम बराल, भूपेन्द्र राई, पुजन प्रधान, गणेश पराजुली, शोभा पराजुली, फुटी शेर्पालगायतको प्रस्तुति रहनेछ । महोत्सवका अवसरमा नगरपालिकाले लागुपदार्थ दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक कार्यक्रम राखेको बरालले जानकारी दिए।

महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरबास (होमस्टे), निजी ढङ्गले चलेका होटल र कटेजमा गरी पाँच हजार जनाले रात बिताउन सक्नेगरी व्यवस्थापन गरिएको संयोजक बरालले बताए । महोत्सव अवधिभर १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको उनको भनाइ छ । महोत्सव आयोजना गर्न रु १० लाख खर्च हुने आयोजकको अनुमान छ ।

असोज पहिलो सातादेखि मङ्सिर मसान्तसम्म र फागुन पहिलो सातादेखि वैशाख मसान्तसम्म सूर्योदय दृश्यावलोकनका लागि आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । समुद्र सतहबाट दुई हजार तीन सय मिटर उचाइमा अवस्थित अन्तुडाँडा सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ । यहाँ नेपाल, भारत तथा तेस्रो मुलुकबाट पर्यटक आउने गरेका छन् ।

यातायातको सुविधाका कारण धेरै पर्यटक एक रात बस्नकै लागि भए पनि श्रीअन्तु पुग्ने गरेका छन् । सूर्योदय नगरपालिको प्रशासनिक केन्द्र फिक्कल बजारबाट १३ किलोमिटर यात्रापछि श्रीअन्तु पुगिन्छ ।