उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्ध र कूटनीतिको मामिलामा राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय माग गरी समसामयिक विषयमा बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र सम्बन्ध र कूटनीतिको मामिलामा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले राष्ट्रिय हित र राष्ट्रिय सार्वभौमिकताको सम्बन्धमा पनि राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।

मन्त्री श्रेष्ठले रुस सरकारसँग सरकारले नेपालीहरुलाई रुसी सेनामा भर्ती नलिन र सम्झौता गरिएकोहरुसँग सम्झौता खारेज गर्न आग्रह गरेको बताए । त्यस्तै युद्धमा निधन भएकाहरुको शव नेपाल पठाउन र क्षतिपूर्ति दिन पनि सरकारले आग्रह गरेको उनले जानकारी दिए । उनले रुसी सरकारले मृतकको परिवारलाई क्षतिपूर्ति एवं बीमा वापतको रकम उपलब्ध गराउने प्रक्रिया प्रारम्भ भइसकेको बताए । उनले रुसी विदेश मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपालीहरुमध्ये घर फर्किन चाहानेलाई करार रद्ध गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको बताए ।

परराष्ट्र मन्त्री श्रेष्ठले केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरु भर्ना हुन नेपाल सरकारको अनुमति नभएको पनि बताए) ।