अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् ।

आइतबार नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् । विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीलाई भविष्यमा नदोहोर्‍याउने प्रतिबद्धतासहित अघि बढ्न उनले सुझाव दिए ।

लगानी कोषले गरेका लगानीमा लगानीकर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए । अर्थमन्त्री महतले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए । उनले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताए । उनले विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीलाई सुधारेर जान सक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताए । पूर्ववर्ती अर्थमन्त्रीहरूले सुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने उनले बताए ।

अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धीकरण जरुरी रहेको बताए । उनले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धीकरण गर्नुपर्ने जिम्मेवारी रहेको बताए । उनले प्रशासन संयन्त्रमा पनि शुद्धीकरण जरुरी रहेको बताए । उनले प्रशासन संयन्त्रको शुद्धीकरण बिना देशको आवश्यकता पूरा गर्न नसकिने बताए ।