नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वविद्यालयहरू खाली हुने र विद्यार्थी नपाउने अवस्था सिर्जना हुन थालेको बताएका छन् ।
शुक्रबारको सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा उनले नेपाली युवाहरू अध्ययनको सिलसिलामा र कामका लागि विदेश जाने प्रवृत्ति बढेको बताएका हुन् । उनले अध्ययनको सिलसिलामा बाहिर जानेको संख्या बढ्दो रहेको बताए ।
अध्यक्ष ओलीले बाहिर अध्ययनका लागि जाने विद्यार्थीहरूमा पनि ठूलो संख्यामा पढेर फर्किने भन्दा उतै जीवन बिताउने मानसिकतामा विदेश पलायन भइरहेको बताए । उनले युवा पुस्तालाई कुनै पनि देश पैसा भएर धनी हुने नभई विकास निर्माणपछि मात्रै धनी हुन्छ भन्ने कुरा बुझाउन जरुरी रहेको बताए । युवामा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास दिलाउन सक्नुपर्ने उनले बताए ।






