इलेक्ट्रोनिक चुरोट (भेप) मा राखेर सुन तस्करी गरेको प्रकरणमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरूद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ।

सुन तस्करी प्रकरण जाँचबुझ गर्न गठित आयोगले महरा सहितलाई मुद्दा चलाउन सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले बताएको छ।

यस्तै आयोगले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डिएसपी दुर्गा दाहाल, रूगम कुँवरविरूद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको स्रोतको दाबी छ।

उनीहरूले अनुसन्धान फितलो बनाउन भूमिका खेलेका, अभियुक्तलाई भगाएकाले मुद्दा चलाउनुपर्ने आयोगको निष्कर्ष छ।

यसैगरी अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ। अधिकारीको सुन तस्करी अभियोगमा थुनामा रहेका दावा छिरिङसँग सम्पर्क देखिएको आयोगको ठहर छ।

प्रहरीको सिआइबी प्रमुख बज्राचार्यलाई विभागीय कारबाहीको तयारी गरिएको छ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाउने तयारी भएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। थप कारबाहीका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको पनि ती अधिकारीको दाबी छ।

६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौँमा सुन तस्करी भएको थियो । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको समितिमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज सदस्य थिए । करिब साढे ५ महिनापछि बुझाएको प्रतिवेदनमा महरालाई दोषी किटान गरिए छ ।