कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई दिल खोलेर विश्वासको मत दिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन्।

उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाए अल्पमतको सरकार हुने र देश दुर्घटनामा जाने पनि बताए। उनले यतिबेला अर्को कुनै अप्सन नै नभएको पनि बताएका छन्।

अध्यक्ष ओलीले देश बर्बादीतर्फ जान लागेकाले सत्ता समीकरण बदलेको पनि बताए। उनले सरकारमा जान हतार भएर गठबन्धन भत्काएको भन्ने कुरा गलत भएको टिप्पणी गरे। उनले सरकारका बारेमा कुनै आलोचना गर्नुपर्‍यो भने पार्टीको अनुमति लिएर मात्रै गर्न सकिनेतर्फ पार्टी पंक्तिलाई सचेत गराए।

अध्यक्ष ओलीले तराईमा डोरीलाई कहिलेकहिले सर्प भनेर झुक्किने गरेको दृष्टान्त पेश गर्दै त्यसैगरी सरकारका बारेमा जथाभावी बोल्दा राम्रो नहुने बताए।

कुनै पनि मन्त्रालयको काम सन्तोषजनक भएन भने छलफल गरेर त्यसलाई सन्तोषजनक, प्रशंशायोग्य बनाउने कुरामा पार्टीले योगदान दिने कार्य योजनासमेत रहेको उनले बताए।