रामेछाप जिल्लाको सुनकोशी गाउँपालिका–३, साबिकको खानीगाउँमा आज बिहान बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया सीता तामाङ रहेकी छिन् ।

स्थानीयका अनुसार सीता बिहान करिब ७ बजेतिर घर नजिकैको जंगलमा घाँस काट्न गएकी थिइन् । एक्लै गएकी उनलाई बाघले अचानक आक्रमण गरेको थियो । उनको चिच्याहट सुनेर छिमेकीहरू दौडेर जाँदा बाघले उनलाई घिसारेर लगिसकेको थियो । करिब ३०० मिटर टाढा जंगलमा उनको शव फेला परेको थियो । घाँटी र टाउकोमा गहिरा चोट लागेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनापछि गाउँमा ठूलो त्रास छाएको छ । “बाघ मान्छे देख्नेबित्तिकै आक्रमण गर्न थालेको छ, पहिले यस्तो हुँदैनथ्यो,” एक स्थानीयले भने, “हामी घाँस–दाउरा गर्न पनि डराउने अवस्था भयो ।”

पछिल्लो दुई महिनामा रामेछापमा यो तेस्रो बाघ आक्रमणको घटना हो । यसअघि कात्तिकमा पनि दुईवटा घटना भएका थिए जसमा एकजना घाइते भएका थिए । डिभिजन वन कार्यालय रामेछापका अनुसार जिल्लामा बाघको संख्या बढ्दै गएको र चितवन राष्ट्रिय निकुञ्जबाट छुट्टिएर आएका बाघहरू मानव बस्ती नजिकै आउने गरेका छन् ।