बौद्ध भिक्षुहरूको तीन महिने वर्षावास सम्पन्न भएको छ । बुद्धकालदेखि चलिआएको यो परम्परा अनुसार भिक्षुहरूले वर्षाको समयमा कहीँकतै नगई एकै स्थानमा रहेर ध्यान, साधना र धर्मदेशना गर्दै वर्षावास बस्ने गर्छन् ।

यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनी, प्राचीन कपिलवस्तु ९तिलौराकोट०, निग्रोधाराम, महावन र पश्चिम नवलपरासीको रामग्रामका विभिन्न विहारमा भिक्षुहरूले वर्षावास बसेका थिए । असारदेखि असोज पूर्णिमासम्म चल्ने वर्षावास सकिएपछि आज औपचारिक रूपमा सम्पन्न भएको हो ।

बौद्ध धर्ममा विनय कर्म पालनका क्रममा अनजानमा भएका त्रुटिबाट पाप नलागोस् भन्ने उद्देश्यले वर्षावास बस्ने गरिन्छ । यस अवधिमा भिक्षु–भिक्षुणीहरूले बिहान–साँझ ध्यान बस्ने, परित्राण पाठ गर्ने, र बुद्ध, धर्म, संघको गुणगानसहित धर्मदेशना गर्ने परम्परा रहिआएको छ ।