भारतको जमशेदपुरस्थित जेआरडि स्पोर्ट्स कम्प्लेक्समा शनिबार साँझ सम्पन्न डुरान्ड कप फुटबल प्रतियोगिताको समूह ‘सी’ अन्तर्गत त्रिभुवन आर्मी क्लब र लदाख एफसीबीचको खेल १–१ को बराबरीमा टुंगिएको छ। समूह चरणको दोस्रो खेलमा आर्मीले एक अंक बटुल्दै तालिकामा तेस्रो स्थान ओगटेको छ भने लदाख दोस्रो स्थानमा छ।
आर्मीले प्रतियोगिताको पहिलो खेलमा जमशेदपुर एफसीसँग ३–२ को हार व्यहोरेको थियो। प्रशिक्षक मेघराज केसीको नेतृत्वमा टोली खेलिरहेकामा कप्तानको भूमिका जर्ज प्रिन्स कार्कीले सम्हालेका छन्। अब समूह चरणको अन्तिम खेलमा आर्मी मङ्गलवार इण्डियन आर्मी टिमसँग भिड्नेछ। कुल २४ टिम सहभागी प्रतियोगितामा समूह विजेता र उत्कृष्ट उपविजेता मिलेर नकआउट चरणमा पुग्ने छन्।






