तेलको भाउमा सहजता : पेट्रोल पाँच, डिजेल र मट्टीतेल एक रुपैयाँ सस्तो
काठमाडौं – उपभोक्तालाई थोरै भए पनि राहत दिने गरी नेपाल आयल निगमले इन्धनको मूल्यमा कटौती गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको हो।
यसअनुसार, अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गका क्षेत्र (चालआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा प्रतिलिटर १५७.५० रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १५९ रुपैयाँ, र तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल) मा १६० रुपैयाँ तोकिएको छ।
त्यस्तै, डिजेल र मट्टीतेलको नयाँ मूल्य क्रमशः पहिलो वर्गमा १४५.५० रुपैयाँ, दोस्रो वर्गमा १४७ रुपैयाँ र तेस्रो वर्गमा १४८ रुपैयाँ कायम गरिएको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त संशोधित मूल्यको आधारमा समायोजन गरिएको निगमले जनाएको छ।






