काठमाडौँ — दरबारमार्गस्थित हिटीपोखरी नजिकै निर्माणाधीन भवनमा सोमबार बेलुका दुई जना कामदारको ज्यान जाने दुःखद घटना भएको छ। पोतला डेभलप्मेन्ट प्रालिद्वारा निर्माण भइरहेका नौ तले भवनको चौथो तलाबाट लिफ्ट मर्मतका क्रममा खसेर उनीहरूको मृत्यु भएको हो।
कैलालीका अन्दाजी ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका करिब २० वर्षीय विशाल चौधरी भवनको लिफ्टमा ग्रिज लगाउने क्रममा फलामको सिक्री चुँडिएपछि भुइँमा खसेका थिए। घाइते अवस्थामा उद्धार गरी वीर अस्पताल लगिए पनि उपचारका क्रममा दुबैजनको मृत्यु भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिए।






