गुल्मी – महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सेवा र समर्पणलाई दीर्घकालीन सुरक्षा दिने उद्देश्यले रूरूक्षेत्र गाउँपालिकाले पेन्सन योजना कार्यान्वयनमा ल्याएको छ।
गाउँपालिकाले नागरिक लगानी कोषसँग सहकार्य गर्दै ७७ जना महिला स्वयंसेविकालाई पेन्सन प्रणालीमा समेटेको छ। अध्यक्ष यदु ज्ञवाली र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीबीच भएको सम्झौतापछि योजना औपचारिक रूपमा लागू भएको हो।
यस प्रकारको पेन्सन सम्झौता गर्ने र योजनालाई संस्थागत गर्ने कार्यमा रूरूक्षेत्र नेपालकै पहिलो स्थानीय तह बनेको गाउँपालिकाले जनाएको छ।
चालू आर्थिक वर्ष ०८१/०८२ साउन महिनादेखि लागू हुने गरी प्रत्येक स्वयंसेविकाका लागि वार्षिक १० हजार रुपैयाँ पेन्सन कोषमा जम्मा गरिने व्यवस्था मिलाइएको छ।
समारोहमा उपाध्यक्ष मिनादेवी गौतम, कोषका उपनिर्देशक नारायणप्रसाद घिमिरे, बुटवल कार्यालय प्रमुख रामेश्वर पुडासैनी, वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वयंसेविका तथा करार शिक्षक र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
गाउँपालिकाले भविष्यमा करार सेवामा कार्यरत कर्मचारी, विद्यालय शिक्षक र अन्य कर्मचारीलाई पनि योजनामा समावेश गर्दै लैजाने योजना बनाएको छ।






