आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत डुन्डी, स्कटल्यान्डमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेको छ। २२५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै नेपालले ४७ ओभर १ बलमा मात्र ५ विकेटको क्षतिमा जित दर्ता गर्‍यो।

यस जितमा नेपालका आरिफ शेख नायक बने। उनले ७८ रनको धैर्यशील र जिम्मेवारीपूर्ण पारी खेल्दै टोलीलाई जितसम्म पुर्‍याए। उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो। दीपेन्द्र सिंह ऐरीले पनि ३८ रनको महत्त्वपूर्ण योगदान दिए। बलिङतर्फ नेपालका सोमपाल कामीले ३ विकेट लिँदा, करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरमा २२५ रन बनाएको थियो। उनीहरूका लागि स्कटल्यान्ड नोहा कोर्सले सर्वाधिक ४८ रन बनाए।

यो जितसँगै नेपालले लिगको १४औँ खेलमा १० अङ्क जोडेको छ र सातौं स्थानमा रहेको छ। नेदरल्यान्ड्स भने २६ अङ्कसहित दोस्रो स्थानमै छ। अब नेपालले जेठ २५ मा स्कटल्यान्ड र २७ मा पुनः नेदरल्यान्ड्ससँग भिड्नेछ।

विश्वकप लिग–२ मा शीर्ष ४ मा पुग्ने टोलीले सन् २०२७ को ओडीआई विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ भने पुछारका ४ टोलीले छनोट प्लेअफ खेल्नुपर्नेछ।