काठमाण्डौ – गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई ‘राइड सेयरिङ’का लागि कानुनी मान्यता दिएको विरोधमा आज देशभरका सार्वजनिक यातायात व्यवसायी आन्दोलित छन्। यसै कारण आज काठमाण्डौ उपत्यकामा मात्र होइन, देशका विभिन्न भागहरूमा सार्वजनिक गाडी न्यूनसङ्ख्यामा सञ्चालन भएका छन्।
ट्राफिक प्रहरीका अनुसार काठमाण्डौ आउन र बाहिर जानका लागि चल्ने सार्वजनिक गाडीहरू पनि फाट्टफुट्ट मात्र चलेका छन्। कार्यालय वा अन्य अत्यावश्यक कामले बाहिर निस्केका सर्वसाधारणलाई गन्तव्यमा पुग्न निकै कठिनाइ भएको छ।
आन्दोलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, ट्रक व्यवसायी महासङ्घ, ढुवानी व्यवसायी महासङ्घ, स्वतन्त्र यातायात मजदुर सङ्गठन लगायतका संघ-संस्थाहरूको संलग्नता रहेको छ। उनीहरूले ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय समिति’ गठन गरी आन्दोलनको नेतृत्व गरिरहेका छन्।
व्यवसायीहरूको भनाइ छ – ‘राइड सेयरिङ’ जस्ता अवधारणाले व्यवसायिक सार्वजनिक यातायातको भविष्य नै धरापमा पार्ने देखिएको हुँदा यो कदम विरुद्ध उभिनु बाध्यता हो।
यसैबीच गण्डकी प्रदेश सरकारले वार्ताका लागि पाँच सदस्यीय वार्ता समिति गठन गरिसकेको छ। प्रदेश सचिव तथा वार्ता समिति संयोजक इञ्जिनियर कमलकुमार अधिकारीका अनुसार, कुनै पनि पक्षलाई प्रदेश सरकारको निर्णयबाट असर पुगेको भए संवादका लागि ढोका सधैं खुला छ।
यातायात व्यवसायीहरू भने हालसम्म वार्तामा सहभागी भएका छैनन्। वार्ताबाट समाधान निकाल्ने प्रयास जारी भए पनि सार्वजनिक सवारीको अभावमा आम सर्वसाधारणलाई दिनहुँको यात्रामा समस्या भइरहेको छ।






