काठमाण्डौ – भिजिट भिसा काण्डमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग तीव्र भएपछि संघीय संसदको वातावरण तनावपूर्ण बन्दै गएको छ। प्रमुख प्रतिपक्ष माओवादी केन्द्रसहित विपक्षी दलहरूले संसद अवरुद्ध गर्ने रणनीति अपनाएपछि जेठ १५ मा आउने नयाँ बजेटसमेत अन्योलमा पर्ने संकेत देखिएको छ।
संविधानअनुसार सरकारलाई निर्धारित मितिमा बजेट संसदमा प्रस्तुत गर्नुपर्ने भए पनि, सदन निरन्तर अवरोधमा परेपछि यो प्रक्रिया प्रभावित हुनसक्ने अनुमान गरिँदैछ। मंगलबारको बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो भने आज बिहान ११ बजे पुनः बैठक बोलाइएको छ।
सभामुख देवराज घिमिरेले राजनीतिक सहमति खोज्न दलका प्रमुख सचेतकहरूसँग निरन्तर परामर्श गरिरहनुभएको छ, तर अहिलेसम्म सहमति जुट्न सकेको छैन। आज पनि छलफल जारी रहनेछ।
यसैबीच, सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एउटा प्रशासनिक कर्मचारीको मुद्दालाई लिएर मन्त्रीमाथि लक्षित आक्रोश व्यक्त गर्नु गैरजिम्मेवार कदम भएको बताउनुभयो। उहाँका अनुसार संसद अवरुद्ध गर्नुको सट्टा समाधानका लागि संवाद गर्नुपर्ने हो।
दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभा—को बैठक आज क्रमशः बिहान ११ बजे र दिउँसो १:१५ बजेका लागि तय गरिएको छ।






