काठमाण्डौ – नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनले क्षितिज थेबेलाई पुनः अध्यक्षको जिम्मेवारी सुम्पिएको छ। पोखरामा सम्पन्न अधिवेशनमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका थेबेले प्रतिस्पर्धी सुमन पुरीलाई १८८ मतले पराजित गर्दै अध्यक्ष पदमा जित निकालेका हुन्।

मतदानमा थेबेले ७९६ मत प्राप्त गर्दा पुरीले ६०८ मत प्राप्त गरे। सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि निर्वाचनमार्फत नेतृत्व तय गरिएको थियो। पुरी यसअघि महासचिव पदमा कार्यरत थिए।

नयाँ कार्यसमितिमा महेश चौलागाईं महासचिव, महाराज गुरुङ र विनय शाह उपाध्यक्ष, उपेन्द्र शाही उपमहासचिव, मदन भण्डारी र अरुण कुँवर सचिव, निशा लिम्बु सुब्बा महिला सचिव तथा मोबिन अख्तर आलम मधेशी सचिव चयन भएका छन्।

त्यस्तै, अनुशासन आयोगको अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोगमा मदन गिरी, लेखा आयोगमा कृष्णदत्त जैसी र युवा विज्ञ परिषद्को नेतृत्वमा चीन लामा निर्वाचित भएका छन्।

महाधिवेशनको औपचारिक उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार सम्पन्न गर्नुभएको थियो।