काठमाण्डौ – देशभरि फैलिएको बदली मौसमका कारण अहिले पनि केही जिल्लामा हल्का वर्षा जारी छ भने भोलिसम्म पनि केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उदयपुर, गुल्मी, जुम्ला, कैलाली, बाँके लगायतका जिल्लामा अहिले पानी परिरहेको छ। महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। बाँकी प्रदेशहरूमा पनि एक–दुई स्थानमा वर्षाको सम्भावना छ।

यसबाहेक, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रका केही भागमा हिमपातको सम्भावना पनि देखिएको छ।

वर्षासँगै तुवाँलो हटेर वायु प्रदूषणमा कमी आएको छ भने डढेलो निभिएका समाचार पनि आएका छन्। खेतबारी भिज्ने गरी पानी परेपछि किसानहरू निकै उत्साहित छन्। महाशाखाले भोलि पनि यस्तै मौसमीय अवस्था रहन सक्ने जनाएको छ।