काठमाण्डौ – आज रामनवमी पर्व धूमधामसँग मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरुले भगवान रामको पूजा अर्चना गरेर यस पर्वको रौनकता बढाउँछन्। यो पर्व प्रत्येक वर्ष चैत शुक्ल नवमीमा पर्छ र यस दिनको विशेषता भगवान रामचन्द्रको जन्मको उत्सव हो। त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक कथा प्रचलित छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार रामनवमी पर्वले रामजस्तै मर्यादित र अनुशासित जीवनको महत्वलाई दर्शाउँछ। यस अवसरमा नदी, ताल र कुण्डमा स्नान गरी व्रत बस्न र रामगीता पाठ गर्न पनि परम्परा रहेको छ। चैत र असोजको नवरात्रलाई जाग्रत दसैँको रूपमा मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैं भनिन्छ।
रामनवमीको विशेष महत्व मिथिला क्षेत्रमा रहेको छ, जहाँ जनकपुरधामस्थित रामजानकी मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। आज जानकी मन्दिरमा विशेष मेला आयोजना हुने छ, जसमा भारतबाट समेत हजारौं श्रद्धालु गङ्गासागरमा स्नान गरी पूजा अर्चना गर्न आउने छन्।
यस पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।






