उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयले ६ चैतमा उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो ।उनीहरूले नयाँ जिम्मेवारी सम्हाल्नुअघि गृहमन्त्री लामिछानेले सेवा प्रवाहमा तत्कालै सुधार गर्न निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूको सरुवा गरेको थियो ।

गृहमन्त्री लामिछानले नागरिकमा सरकारको व्यावहारिक अनुभूति गराउने गरी काम गर्न पनि निर्देशन दिएका छन् ।  ‘कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्नुस्, जनतामा आशा जगाउन र आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्वको सञ्जाल तोड्नुस् ।’

लामिछानेले गुण्डागर्दी, तस्करी, राजस्व चुहावट, प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न पनि निर्देशन दिएका छन् ।

राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न गृहमन्त्रीले अनुराेध गरेका छन्। “आज्ञापालक होइन, सिर्जनशिल प्रशासक बन्नुस्। नागरिकबाट मानसम्मान खोज्ने होइन, उनीहरुलाई गर्नुस्। औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्नुस्। जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, लिएपछि नभाग्नुस्,” उनले बताए ।

गृहमन्त्री लामिछानेले सेवाग्राहीले सास्ती भोग्नु नपरोस् भन्ने चेतावनी दिँदै अध्यागमनका समस्या समाधानका योजना ल्याएमा हरसंभव सहयोग हुने पनि विश्वास दिलाए ।

यसकासाथै सुरक्षा र सेवा प्रवाहमा तत्कालै सुधार हुनुपर्ने र स्थानीय सरकारसँग समन्वय गर्न र त्यसका लगि समयमै निर्णय र रिपोर्टिङ गर्न पनि निर्देशन दिइयाे ।