नेपालका लागि चिनियाँ राजदूत छन सोङले अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग मंगलबार शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत छनले दोस्रोपटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेकामा मन्त्री पुनलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरे।
भेटमा मन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गर्दै प्रक्रियामा रहेका आयोजना अघि बढ्ने विश्वास व्यक्त गरे। चीनले पछिल्लो दशकमा गरेको आर्थिक विकास र गरिबी निवारणको काम विश्वकै लागि उदाहरणीय हुन सक्ने बताएको चर्चा गर्दै चीनको अनुभव नेपालका लागि पनि सान्दर्भिक हुन सक्ने बताए।
चीनले नेपालको भौतिक विकाससहित विभिन्न क्षेत्रमा विगतदेखि नै सहयोग गर्दै आएकोमा धन्यवाद दिँदै पुनले नेपालको अर्थतन्त्रमा केही शिथिलता देखिएको र जनताको विकासको आकांक्षा उच्च भएकाले नियमितभन्दा थप सहयोगको अपेक्षा राखिएको उल्लेख गरे।
०७२ को महाभूकम्प, कोभिड–१९ महामारी र पछिल्लो जाजरकोट भूकम्पपछि चीन सरकारका तर्फबाट भएको मानवीय सहयोग स्मरणयोग्य रहेको पुनको भनाइ थियो।
चिनियाँ लगानीमा चक्रपथको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने विश्वास व्यक्त गरे। यस्तै उनले जिलोङ–केरुङ–रसुवागढी–चिलिमे २ सय २० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम पनि तत्काल अघि बढाउनुपर्ने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत असोजमा भएको चीन भ्रमणका क्रममा चिनियाँ समकक्षी ली छ्याङसँगको भेटमा त्यसबारे द्विपक्षीय सहमति भएको थियो। मन्त्री पुनले क्रस हिमालय रेलवे परियोजनालाई नेपालले उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै चिनियाँ पक्षबाट भइरहेको सम्भाव्यता अध्ययनको प्रगतिबारे चासो व्यक्त गरे।






