यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव शून्य छको बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर ८२ हजार छ सय दुईपटक खरिदबिक्री हुँदा रू आठ अर्ब ८३ करोड २२ लाख २५ हजार आठ सय ९२ बराबरको कारोबार भएको छ ।

व्यापार समूह नौ दशमलव शून्य सात, विकास बैंक समूह चार दशमलव ५२ र होटल तथा पर्यटन समूह शून्य दशमलव ३० प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह दुई दशमलव ९६ प्रतिशतले घटेको छ ।

पाँचवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको रू ३४ करोड ३१ लाख ४९ हजार सात सय १७ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको पाँच लाख आठ हजार तीन सय ४१ कित्ता शेयर किनबेच भएको छ ।