लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अंकले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलव ४० अंकले उकालो लागेर चार सय ७८ दशमलव  ४८ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको शेयर मूल्य भने घटेको छ ।

कूल एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता शेयर रु आठ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६ सय १२ मूल्यमा कारोबार भएको छ ।