खडेरीका कारण खेतबारीमै बाली सुक्न थालेपछि जुम्लाका किसान चिन्तामा परेका छन्।
किसानका लागि यो याम कोदोदेखि अन्य बाली लगाउने समय हो।
तर समयमै वर्षा नहुँदा अहिलेसम्म खेतबारीमा कोदो लगाउन नसकिएको तिला गाउँपालिका–१ का स्थानीय किशोर रावतले बताए।
‘पानी परेको छैन, खेतबारी सुक्खा छन्। सिँचाइको कुनै सुविधा छैन। यसपाली असार लागे पनि खेतीपातीको काम भएको छैन। गाउँमा खाद्यन्न सङ्कट आउने हो कि भन्ने चिन्ता थपिएको छ,’ उनले भने।
उनका अनुसार गतवर्ष समयमै पानी पर्दा कोदो र सिमीको उत्पादन राम्रो भएको थियो। यस वर्ष वर्षा नहुँदा कृषि उत्पादनमा ह्रास आउन सक्ने उनले बताए।
विषेशगरी यहाँका किसानले हिउँदे याममा लगाएका नयाँ स्याउका बिरुवामा खडेरीका कारण क्षति पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ जुम्लाका कृषि अधिकृत खेमराज शाहीले जानकारी दिए।
हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदेबाली पनि राम्रोसँग उत्पादन नभएको हिमा गाउँपालिका– ४ का किसान रतन रोकायाले बताए।
जिल्लाका अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेको छैन। वर्षा नभएको खण्डमा यो वर्ष जिल्लामा खाद्यन्नबालीदेखि स्याउ उत्पादनमा कमी आउनसक्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।






