मंगलबार सेयर बजारले २ हजार अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २५.९३ अंक बढेर २००६ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि उच्च दरले बढेको छ । अघिल्लो दिन २ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८० करोडको कारोबार भयो ।

कुल २१५ कम्पनीको मूल्य बढ्यो भने २६ को घट्यो, ४ को स्थिर रह्यो । यस दिन विकास बैंक समूह सबैभन्दा धेरै बढेको छ । विकास बैंक समूह ४.९ प्रतिशत बढ्यो ।

चार वटा कम्पनीका लगानीकर्ताले भने आम्दानी र नोक्सानी दुवै व्यहोर्नुपरेन। आज बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तका सेयरधनी मालामाल भएका छन्। दुई संस्थाको सेयर १० प्रतिशत र ९.९९ प्रतिशतले बढ्दा सेयरधनीले क्रमशः ४४.२० र ९८ रुपैयाँ प्रतिसेयर आम्दानी गरे।

आज लगानीकर्ताले ७.१८ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोर्नुपरेको छ। सर्वाधिक कारोबारमा आज शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।

आज १ करोड १८ लाख कित्ता सेयर कारोबार भएको छ। जुन पछिल्ला केही दिनयता बिक्री भएको सर्वाधिक सेयर संख्या हो।