वीर अस्पतालका चिकित्सकहरूले १०३ वर्षीया वृद्धाको मस्तिष्कमा भएको गम्भीर रक्तस्रावको जटिल तथा दुर्लभ शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका छन्। यो विश्वमै यस्तो उमेर समूहमा गरिने न्यूरोसर्जरीका दुर्लभ उदाहरणमध्ये एक हो।
काठमाडौँको कोटेश्वरकी ती वृद्धा अचेत अवस्थामा अस्पताल भर्ना भएकी थिइन्। जाँचमा मस्तिष्कमा ठूलो रक्तस्राव भएको पाइएपछि तत्काल शल्यक्रिया आवश्यक भएको थियो।
वीर अस्पतालको न्यूरोसर्जरी विभागका प्रमुख प्रो. डा. राजीव झाका अनुसार, बिरामीको उमेरका कारण शल्यक्रिया चिकित्सकीय र नैतिक दृष्टिकोणले जटिल थियो। “न्यूरोसर्जरी टोलीको विस्तृत छलफल र परिवारसँग परामर्शपछि हामीले शल्यक्रिया गर्ने निर्णय गरेका थियौँ,” डा. झाले भने।
शल्यक्रिया डा. झाको नेतृत्वमा डा. समीर अर्याल, डा. नम्रता खड्का, डा. आयुष बिमली, स्टाफ नर्स सिन्धु गौतम लगायतका स्वास्थ्यकर्मीको टोलीले सफलतापूर्वक सम्पन्न गरेको हो।
शल्यक्रिया पछि बिरामीको स्वास्थ्यमा आश्चर्यजनक सुधार देखिएको छ। उनी अहिले होशमा छिन्, बोल्न सक्छिन् र आफैँ खाना खान सक्ने अवस्थामा पुगेकी छिन्।
चिकित्सकहरूका अनुसार, शतायु उमेरका बिरामीमा मस्तिष्क शल्यक्रिया सफल हुने विश्वमै अत्यन्त दुर्लभ मानिन्छ। अस्पताल भर्ना हुनु अघि एक महिनाजति वृद्धालाई टाउको दुख्ने र बारम्बार लड्ने समस्या थियो।
यो सफलताले नेपालमा न्यूरोसर्जरी क्षेत्रको क्षमता वृद्धि भएको देखाउँछ र वृद्ध उमेरका बिरामीहरूका लागि नयाँ आशा जगाएको छ।






