काठमाडौँ – नेपालको नयाँ संविधान घोषणा भएको दस वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। २०७२ साल असोज ३ गते, तत्कालीन राष्ट्रपति डा. रामवरण यादवद्वारा संविधान जारी गरिएको ऐतिहासिक दिनको स्मरणमा सरकारले यो दिनलाई राष्ट्रिय उत्सवको रूपमा मनाउने निर्णय गरेको हो।
संविधान दिवस–२०८२ का अवसरमा विहान टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहनुभएको छ भने प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुने कार्यक्रम तय गरिएको छ।
राजनीतिक संवेदनशीलता र हालैका आन्दोलनहरूका कारण परम्परागत झाँकी तथा सांस्कृतिक कार्यक्रमहरू सिमित गरिएको गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो। यद्यपि, संविधानको दस वर्षे यात्रामा प्राप्त उपलब्धिहरू, देखिएका चुनौतीहरू र आगामी दिशाको विषयमा बहस तथा अन्तरक्रिया आवश्यक रहेको आवाज उठिरहेको छ।
यस दिवसलाई भव्य रूपमा मनाउन अघिल्लो सरकारले भदौ ८ गते मूल समारोह समिति गठन गरेको थियो। तर, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक उतारचढावका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि समारोहको स्वरूपमा परिवर्तन आएको छ।






