काठमाण्डौ — राजधानी काठमाण्डौ उपत्यका तीनै जिल्लामा शान्तिपूर्ण देखिए पनि सुरक्षा तनाव चुलिएको छ। नेपाली सेनाले जनधनको सुरक्षालाई प्राथमिकता दिँदै निषेधाज्ञा र कर्फ्युलाई यथावत् राख्दै, नागरिकलाई दैनिक आवश्यकताका लागि जम्मा सात घण्टाको आवतजावत समय दिएको छ।

आज बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र अत्यावश्यक कार्यका लागि हिँडडुल गर्न पाइने व्यवस्था गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। बाँकी समय निषेधाज्ञा र रातभर कर्फ्यु लागू रहनेछ।

सैन्य स्रोतका अनुसार, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, एम्बुलेन्स, खाद्यान्न तथा इन्धन बोक्ने सवारी, विमान यात्रु तथा सरकारी कर्मचारीहरूलाई सीमित अनुमति दिइएको छ। तर, जुलुस, धर्ना वा कुनै पनि प्रकारको प्रदर्शन भने निषेधित छ।

राजधानीको यो ‘नियन्त्रित खुलापन’ जनसुरक्षा र सार्वजनिक शान्तिका लागि गरिएको अस्थायी कदम भएको जनाइएको छ।