काठमाडौँ — सन् १९९७ देखि २०१२ भित्र जन्मिएका, अहिले २८ वर्षमुनिका युवाहरूले प्रतिनिधित्व गर्ने ‘जेन जेनरेशन’ आज माइतीघर मण्डलामा आफ्नो असन्तुष्टि प्रकट गर्दै छन्। सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारी निर्णय र भ्रष्टाचारविरुद्ध उनीहरूले बिहान ९ बजेदेखि प्रदर्शन गर्ने जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले निषेधित क्षेत्रमा प्रवेश नगर्ने सर्तमा प्रदर्शनको अनुमति दिएको छ। यद्यपि, विभिन्न समूह र व्यक्तिहरूको समर्थनले प्रदर्शनमा अनधिकृत व्यक्ति घुसपैठ गर्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यसअघि चैत १५ मा भएको प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो। सोही प्रकरणमा पक्राउ परेका र हालै रिहा भएका दुर्गा प्रसाईंले समेत आजको प्रदर्शनलाई समर्थन जनाएका छन्। प्रशासनले आयोजकहरूलाई सचेत रहन आग्रह गर्दै कानून विपरीतका गतिविधि हुन नदिन आवश्यक प्रहरी बल परिचालन गर्ने बताएको छ।

प्रदर्शनको मूल मर्म भने सामाजिक न्याय र पारदर्शिता सुनिश्चित गर्नु हो। विशेषगरी ‘नेपो बेबी’ ट्रेन्डमार्फत युवाहरूले अवसर, सुविधा र पदमा पहुँचवाला अभिभावकको आडमा विशेष सुविधा लिने प्रवृत्तिको कडा विरोध गरेका छन्।