काठमाडौँ – परम्परा, पूजाआजा र सांस्कृतिक विविधताले भरिएको काठमाडौँ उपत्यका आज इन्द्रजात्राको रौनकमा डुबेको छ। वर्षाका देवता देवराज इन्द्रको सम्मानमा मनाइने यो जात्रा विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत क्षेत्रहरूमा भव्य रूपमा मनाइँदैछ।
इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर प्रारम्भ गरिने यस पर्वमा ऐतिहासिक हनुमानढोकाबाट कुमारी, गणेश र भैरवको रथयात्रा निकालिन्छ, जसलाई राष्ट्रपति स्वयं अवलोकन गर्ने परम्परा रहेको छ। आठ दिनसम्म चल्ने यो जात्रामा विभिन्न नाचगान, देवपूजा र सांस्कृतिक प्रस्तुतिहरू समावेश छन्।
यसै अवसरमा, काठमाडौँको दहचोकस्थित इन्द्रदहमा भक्तजनहरू रातभर जाग्राम बसेर भोलि स्नान गर्ने र मेलामा सहभागी हुने गर्दछन्। आजकै दिन अनन्त चतुर्दशी परेकाले भगवान् विष्णुको पनि विशेष पूजा गरिँदैछ।






