पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा हैजाको सङ्क्रमण थप फैलिँदै गएपछि सबै विद्यालयहरू आगामी तीन दिनका लागि बन्द गरिने निर्णय गरिएको छ। नगरप्रमुखको नेतृत्वमा आज सम्पन्न आपतकालीन बैठकले भोलि बुधबारदेखि शुक्रवारसम्म सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय लिएको हो।

यसअघि दुई दिनको लागि विद्यालय बन्द गरिएको भए पनि हैजाको जोखिम कम नहुनुका कारण विद्यालय बन्दको अवधि थप गरिएको जनाइएको छ। साथै, शिक्षक र विद्यालय कर्मचारीहरूलाई समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतना फैलाउन सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त पछिल्लो रिपोर्टअनुसार, वीरगञ्जबाट संकलन गरिएका १० वटा नमुनामध्ये ८ वटामा हैजा पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो केही दिनमा मात्रै ३९१ जना झाडापखालाका बिरामी अस्पताल भर्ना भएका छन्, जसमा ९५ जनामा हैजा पुष्टि भएको छ।

स्थानीय प्रशासन र स्वास्थ्य निकायहरू हैजाको महामारी फैलिन नदिन सतर्कता अपनाउँदै, सरसफाइ, स्वच्छ पानी र जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिइरहेका छन्।