काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि शनिबार सम्पन्न मिनी अक्सनबाट आठवटै टोलीले गरी ३७ नेपाली खेलाडी अनुबन्ध गरेका छन्। प्रारम्भिक चरणमा २६ खेलाडी छनोट गरिए भने बाँकी ११ खेलाडीलाई ‘विस लिस्ट’ बाट टोलीहरूले छानेका हुन्।

‘ए’ श्रेणीमा पर्ने चार खेलाडी — देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफ — लाई जनही १५ लाख रुपैयाँमा उच्च मूल्यमा अनुबन्ध गरिएको हो। यिनलाई भित्र्याउन एकभन्दा बढी टोली इच्छुक भएपछि अन्ततः ‘लक्की ड्र’ प्रणालीमार्फत टुङ्गो लगाइएको थियो।

चितवन राइनोजले देव र अर्जुनलाई, काठमाण्डू गोर्खाजले आदिललाई र कर्णाली याक्सले पवनलाई अनुबन्ध गरेको हो। यसबाहेक, अन्य ‘बी’ र ‘सी’ श्रेणीका खेलाडीहरू पनि आकर्षक मूल्यमा अनुबन्ध गरिएको छ, जसमा दिलीप नाथ, हेमन्त धामी, सूर्य तामाङ, आकाश त्रिपाठी, तथा मयन यादवजस्ता नाम चर्चामा छन्।

यस मिनी अक्सनमा कुल १५० खेलाडी सहभागी थिए, जसलाई प्रारम्भिक ४५८ दर्ता खेलाडीबाट छानिएको थियो। यससँगै प्रत्येक टोलीमा ११ जना नेपाली खेलाडी पुगेका छन् भने अब विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया सुरु हुनेछ।